भेरी नदीमा बनेन पुल
काठमाडाैं | माघ २३, २०७९
जाजरकोट: ठेक्का लिएको सात वर्षसम्म पुल निर्माण नहुँदा जाजरकोट नलगाड नगरपालिका–१० र रुकुम पश्चिम आठबीसकोट–५ स्यालाखदी जोडिन सकेको छैन ।
वि.सं २०७३ असार ३१ गते मृत सञ्जीवनी गाल्वा जेभी बसुन्धारा काठमाडौंले भेरी नदीमा पुल निर्माण गर्ने भन्दै सडक डिभिजन चौरजहारीसँग सम्झौता गरेको थियो । पछिल्लो पटक थपिएको म्याद २०७७ पुस ३० गतेभित्र निर्माण हुनुपर्ने भए पनि हालसम्म सकिएको छैन ।
सडक डिभिजन चौरजहारीले २०७९ कात्तिक २९ गते ठेक्का किन नतोड्ने भन्दै अन्तिम पत्र पठाएको डिभिजन प्रमुख आशुतोष कर्णले बताउनुभयो । मौखिक तथा लिखित पटक–पटक ताकेता गर्दा पनि जेभीले सम्झौता अनुसारको काम नगर्दा आफूहरू हैरान भएर अन्तिम पटक पत्र लेखेको प्रमुख कर्णको भनाइ छ । तोकिएको समयमा स्पष्टीकरण पेस नभएमा सार्वजनिक खरिद ऐन २०६३ को दफा ५९ बमोजिम कारबाही गरिने पत्रमा उल्लेख छ ।
यस अवधिमा केही काम भए पनि मजदुरले ज्यालासमेत नपाएको नलगाड नगरपालिका –१० का सुरेन्द्र थापाले बताउनुभयो । रुकुम पश्चिम आठबीसकोट नगरपालिका– ५ गोतामकोटका करवीर बस्नेतले काम गरेको रकम नपाएको गुनासो गर्नुभयो ।
गोतामकोटकै गुमलाल विकको नेतृत्वमा काम गरेका मजदुरले १० लाख नपाएको बताएका छन् । स्थानीय मजदुर जयलाल भण्डारीको नेतृत्वमा काम गरेको मजदुरले रु ६ लाख रकम नपाएको बताउनुभयो ।
मृत सञ्जीवनी गाल्वा जेभी बसुन्धारा काठमाडौंको नामबाट आफूले काम गर्ने भन्दै छेडागाड नगरपालिकाका नगरप्रमुख रत्न खड्का बैङ्क ग्यारेन्टी समेत राखी काम सुरु गरेका थिए । तर सम्झौता मितिभन्दा बढी समय लगाएपछि पेश्की रकम कार्यालयले फिर्ता लिएपछि काम नगर्ने भन्दै प्रमुख खड्काले काम छोडेका थिए । कूल रु नौ करोडमा उक्त पुल निर्माण गर्ने सम्झौता भएको थियो ।
पोखरा: प्रधानमन्त्री कप (पिएम कप) कास्की जिल्ला क्लबस्तरीय एक दिवसीय क्रिकेटमा शनिबार २ खेल सम्पन्न भएका छन् । पोखरा र लेखनाथस्थित क्रिकेट मैदानमा भएको खेलमा लेखनाथ र अरण्यज्योतिले आ–आफ्नो खेलमा जित हासिल गर...
बागलुङ: हिमपातका कारण शुक्रबार रातिदेखि अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालनमा आएको छ । लोकमार्गको बागलुङ, रोल्पा र पूर्वी रुकुमको सिमाना पातीहाल्नेमा हिमपात हुँदा अवरुद्ध भएको थियो । लोकमार्गमा बाक्ल...
पोखरा: पोखराको अमरसिंह चौरमा जारी पोखरा महोत्सव उत्सव र पर्वकै रुपमा हेरिन थालिएको छ । आयोजक युनाईटेड क्लबले स्थापना कालदेखिनै हरेक पुषको अन्तिम साता देखि माघको पहिलो हप्ता सम्म पोखरा महोत्सवको आयोजना...

